२०८२ फागुन ४ सोमवार , १२:०७:५४ बजे

Sajhamanch
'

मुस्ताङमा मतदान केन्द्रसम्म पुग्न घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता

सोमवार, फागुन ४, २०८२

मुस्ताङ । मुस्ताङका कतिपय मतदान केन्द्रहरू सदरमुकाम जोमसोमदेखि १ सय किलोमिटरसम्मको दूरीमा पर्छन । यसबाट मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ ।

विशेषगरी माथिल्लो मुस्ताङमा पर्ने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाताले मतदान गर्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल–चीन उत्तरी कोरला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका ६ को मतदानस्थलमा पुग्न जोमसोमबाट गाडीमै झन्डै ६–७ घण्टा लाग्छ ।

गाडीको सहज पहुँच नपुगेका शाखा सडक र दुर्गम भू–भागका कारण वृद्ध, अपाङ्गता भएका व्यक्ति र महिलाहरूलाई विशेष कठिनाइ हुने स्थानीयको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरू पनि सदरमुकामबाट झन्डै १ सय किलोमिटर दूरीमा छन् ।

कोरला सडकसँग जोडिएका केही ठाउँमा आवतजावत सहज भए पनि धेरैजसो बस्तीबाट मतदान केन्द्रसम्म पुग्न घण्टौँ लाग्ने गर्छ । मतदानपछि मतपेटिका जोमसोम ल्याउन समेत राति अबेरसम्म समय लाग्ने भएकोले सुरक्षा र मतपेटीका व्यवस्थापनमा समेत चुनौती छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका मतदान केन्द्रहरू पनि जोमसोमबाट झन्डै ५० किलोमिटर टाढा छन् । हिमाली भूगोल, चिसो मौसम र लामो दूरीका कारण मतदाताको सहभागितामा असर पर्न सक्ने देखिएको छ ।

जिल्लामा ३९ मतदानस्थल कायम गरिएपनि भौगोलिक विकटता मुख्य चुनौती बनेको छ । मतदान केन्द्र टाढा हुँदा मतदाता सहभागिता घट्ने, विशेष गरी वृद्ध तथा शारीरिक रूपमा अशक्त मतदाताले मतदानबाट वञ्चित हुन सक्ने जोखिम देखिएको छ ।

सम्बन्धित खबर