२०८२ फागुन ३ आइतवार , १०:१२:५० बजे

Sajhamanch
'

झापा निर्वाचन क्षेत्र नं. २ : धर्मशिलाका २० बुँदे प्रतिबद्धता

आइतवार, फागुन ३, २०८२

बिर्तामोड । पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि गर्ने २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

चुनाव परिचालन समितिको कार्यालयमा आज साँझ पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टीका नेता तथा झापा क्षेत्र नं. २ का उम्मेदवार चापागाईंले क्षेत्र नं. २ को समृद्धिका लागि विस्तृत चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

प्रतिवद्धता पत्रमा बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रीय हबको रुपमा विकास गर्ने, विराटपोखरी, अर्जुनधारा जलेश्वर धाम, सालबारी, निचाझोडा जस्ता क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास गर्ने, चारपाने दक्षिणको क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने, परम्परागत उद्योगको संरक्षण तथा आधुनिकीकरण गरी रोजगारी सिर्जना गर्ने, बिर्तामोडलाई स्मार्ट सिटी बनाउने गुरुयोजना निर्माण गरी सडक तथा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिने कुरा उल्लेख छ ।

‘झापा २ लाई समुन्नत, न्यायपूर्ण र समृद्ध बनाउने’ संकल्प गरेकी उम्मेदवार चापागाईंले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई समेट्दै २० बुँदे योजना अघि सारेकी हुन् । सञ्चारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै उम्मेदवार चापागाईंले नेपालको संविधान २०७२ साबिक नेकपा माओवादी केन्द्रको जनयुद्धको जगमा जारी भएको र त्यसको पूर्ण कार्यान्वयन, संविधान संशोधन मार्फत लक्षित वर्गलाई थप अधिकार प्रत्यायोजनका कार्यभार अपूरो भएकाले त्यो काम सम्पन्न गर्न आफुलाई विजयी बनाउन आवश्यक रहेको धारणा राखिन् ।

समाजमा व्याप्त मिटर व्याजी समस्या समाधान, समाज र परिवारबाट बहिष्कृत व्यक्तिको पुनःस्थापना, खानेपानी र सिँचाईको उचित व्यवस्थापन, प्राविधिक, रोजगारमुखी र प्रविधिमैत्री शिक्षाको विकासमा काम गर्ने, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, युवाको नेतृत्व विकास र खेलकुदको पूर्वाधार विस्तारका कार्य गर्ने, महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक वर्गको उत्थानका लागि काम गर्ने, जनसहभागिता मार्फत समाजवादको आधार तयार गर्ने जस्ता बुँदालाई नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. २ का उम्मेदवार चापागाईंले चुनावी प्रतिवद्धता पत्रमा समेटेकीछन् ।

एक वडा एक पुस्तकालय र सार्वजनिक स्थल निर्माणलाई रचनात्मक प्रतिवद्धताको रुपमा प्रस्तुत गर्दै उनले विकास निर्माणको कार्य गर्दा वातावरण संरक्षण र वातावरण अनुकूल हुने गरी गर्ने, शान्ति, सुशासन र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने, सूचना प्रविधिको विकास र संचार माध्यमको पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेकी छन् ।

आदिवासी जनजातिको मौलिक सम्पदाको रुपमा रहेको कला, भाषा, साहित्यको विकासका प्रभावकारी कार्य गर्ने, कृषि, पशुपालन र दुग्ध उत्पादनलाई जोड दिँदै स्थानीय कृषकहरुका लागि मल तथा विउविजनको सहज आपूर्तिको व्यवस्था मिलाउने जस्ता मतदाताको दैनिक जीवनसँग जोडिएका विषयलाई चापागाईंले प्रतिवद्धताको रुपमा प्रस्तुत गरेकी छन् ।

यसअघि पटक पटक राजकीय पदमा पुगेर पनि सादगी जीवन बाँचिरहेको र विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी रहेको प्रष्ट्याउँदै चापागाईंले आफूले यस क्षेत्रको विकासका लागि विगतमा संसदमा हुँदा शुरु गरेको कार्य पूरा गर्नका लागि पुनः जिताउन सम्पूर्णलाई पत्रकार सम्मेलन मार्फत आग्रह गरेकी छन् ।

सम्बन्धित खबर