२०८२ फागुन ३ आइतवार , ०५:२४:४६ बजे

Sajhamanch
'

एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित

आइतवार, फागुन ३, २०८२

काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग १८ रनले पराजित भयो ।

यूएईले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो । नेपालका सम्झना खड्काले ५८, कप्तान पूजा महतोले ५३ रन बनाए । यूएईका सुरक्षा कोटी र हीना होटचन्दानीले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनायो । यूएईकी कप्तान ईशा ओजाले १२५ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो । यूएईको भने यो लगातार दोस्रो जीत हो । यूएई ४ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भारतसँग खेल्नेछ ।

प्रतियोगितामा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ ।