
झापा । आईसीसी टी–२० विश्वकपमा आज सबैभन्दा प्रतिक्षित छिमेकी दुई देश भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।
भारत र श्रीलङ्कामा चलिरहेको विश्वकपमा यी दुई देशबीचको खेल श्रीलङ्काको कोलम्बोमा बेलुका सवा ७ बजे शुरु हुनेछ ।
यो खेल केवल दुई टोलीबीचको मात्र नभइ विगतको इतिहास, भावना, राजनीति र प्रतिष्ठासँग जोडिने गरेको छ । त्यसैले पनि भारत र पाकिस्तानबीच हुने खेल धेरैको चासोको विषय बन्ने गरेको छ ।
यसअघि पाकिस्तान सरकारले समूह चरणमा आफ्नो टोलीले भारतसँग नखेल्ने बताएको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँगको वार्तापछि अन्तिम क्षणमा पाकिस्तान खेल्न सहमत भयो ।
निरन्तरका छलफलबाट पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी गराइएको थियो । भारतमा खेल्न अस्वीकार गरेको कारण टी–२० विश्वकपबाट बाहिरीएको बङ्गगलादेशलाई कारबाही नगर्ने समेत निर्णय भयो ।
आज समूह चरणको खेल भए पनि यसको प्रभाव र नतिजा महत्त्वपूर्ण छ । समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघिका दुई वटा खेल जितेका छन् । दुवै टोलीको समान ४ अङ्क भए पनि नेटरनरेटका आधारमा भारत तालिकाको शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ ।


