
काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो पार्टीको प्रतिज्ञापज्ञ निर्वाचन आयोगमा बुझाउने भएको छ । आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधवार सार्वजनिक गर्ने तयारी छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज पार्टी कार्यालय सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । कांग्रेसले यही ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी सभाको शुरूआत गर्दैछ । त्यसैअनुसार सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले दलहरूलाई यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि घोषणापत्र पेस गर्न आजसम्मको समय दिएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा),राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) लगायतले आफ्नो चुनावी घोषणापत्र तथा संकल्पत्र सार्वजनिक गरिसकेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही दलको घोषणापत्र सार्वजनिक हुन बाँकी नै छ ।


