
दमक । नेकपा एमाले क्षेत्र नं ५ का नेताहरुले पार्टीको अवस्थामा उल्लेख्य सुधार भएको बताएका छन् । निर्वाचन परिचालन कमिटीको आजको सचिवालय बैठकमा अध्यक्षले टोलटोलमा मतदातासँग भेटघाट गरेपछि असन्तुष्टीसँगै आसासमेत पलाएको उनीहरुको भनाइ छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष केदार ढुंगेलले बैठकमा एकसाता अघिभन्दा अहिलेको अवस्थामा बदलाव आएको, विपक्षीप्रति छोटो समयमा नै मतदाताहरुले नकारात्मक धारणा राख्न थालेको र एमालेप्रति असन्तुष्टी राखे पनि आशा कायमै राखेको बताउनु भएको छ ।
‘वडा सदस्यदेखि पालिका पदाधिकारी र प्रदेश सरकारसम्मका असन्तुष्टी अध्यक्षलाई पोखिरहेका छन् मतदाताहरु’ जिल्ला कमिटी सदस्य केदार ढुंगेलले भन्नुभयो ‘यसले गर्दा हामीप्रतिको असन्तुष्टी अलि ठूलो हो कि भन्ने परेको छ ।
यसका लागि सबैले आफ्नो जिम्मेवारी अनुसारका असन्तुष्टीको सम्बोधन गरौं । समाधान गर्न सक्ने काम आफ्नो तहबाट गरौं । मतदाता हामीसँग नकारात्मक छैनन् ।’
एमाले नेता मदन अधिकारीले सबै वडाहरुमा वर्तमान र निवर्तमान जनप्रतिनिधिलाई ब्यापक मात्रामा परिचालन गर्न सुरु गरिएकोले सानातिना असन्तुष्टी सम्बोधन हुन थालेको बताउनुभयो ।
दमक ५ स्थित वडा नं ५ को प्रचार कार्यलयमा भएको बैठकमा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मतदातासँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले गाउँपालिका भित्रका सबै टोलहरुको बैठक पनि सकिएको र अध्यक्ष ओलीलाई धेरै कार्यकर्ताले गुनासो र समस्या पनि राखिसकेकोले उहाँहरु कामतिर फर्केको बताउनुभयो ।
गौरादह नगरपालिकाको तर्फबाट प्रदेश कमिटी सदस्य अमर शिवाकोटीले व्यक्तिगत सम्बन्धलाई पार्टीमा ल्याएर जोड्नु नहुने बताउनुभयो । उहाँले गौरादहका केही वडाहरुमा आपसी अन्तरविरोध समाधान भएकोले अधिकांश कार्यकर्ता चुनाव प्रचरमा लागेको बताउनुभयो ।
गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले घरदैलोका नाममा सडक हिडेर मात्र मतदाताको मन तान्न नसकिने बताउनुभयो । उहाँले गौरादह ५ मा हरेक घरमा कम्तीमा १० पटक एमाले कार्यकर्ता पुग्ने संयन्त्र खडा गरिएको जानकारी दिनुभयो ।
‘हरेक १० घरमा १० जनाकै टिम बनाउने र दैनिक पालो गरेर हरेक घरमा जाने सूर्यको पक्षमा मत माग्ने काम गर्नुपर्दछ’ सुवेदीले भन्नुभयो ‘एक घरमा आज गएको कार्यकर्ता भोली अर्कै घरमा जाने संयन्त्र बनाइएको छ ।’
पार्टी केन्द्रीय सदस्य होमबहादुर थापाले झापा ५ मा २३ वटा धिमाल समुदायका बस्ती रहेको र ती बस्तीहरुले एमालेलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो ।
‘हामीले दमक नगरपालिकामा धिमाललाई प्रथम नागरिक घोषणा गरेका हौं’ थापाले भन्नुभयो ‘भदौ २४ गते विध्वंसकारीले हामीले बनाएका धिमालका प्रतिमा तोडिएका छन् । त्यसैले यो समुदाय हामीसँग सकारात्मक छ ।’
धिमाल जातीय विकास केन्द्रका अध्यक्ष नम्बरलाल धिमालले थापाको कुरामा समर्थन गर्दै यसअघि नै धिमाल समुदायले अध्यक्ष ओलीलाई मतदान गर्ने प्रतिवद्धता जनाइसकेको बताउनुभयो ।
अनेम संघ झापाकी अध्यक्ष लिला ढुंगेलले महिलाहरुको अलग्गै संयन्त्र बनाएर परिचालन भइरहेको बताउनुभयो । कतिपय ठाउँमा आमाहरुलाई विदेशमा बस्ने छोराछोरीले दबाब सृजना गरेकोले त्यसको सम्बोधनका लागि अनेम संघले आमा भेटघाटलाई तिव्रता दिएको बताउनुभयो ।
निर्वाचन परिचालन कमिटीका कमाण्डर एवं केन्द्रीय सदस्य देवेन्द्र दाहालले पार्टीको स्थितिमा पछिल्लो साता उल्लेख्य सुधार आएको बताउनुभयो । आफूले सबै वडाको प्रत्यक्ष जानकारी लिइरहेको र त्यसलाई भेरिफाइसमेत गरिरहेकोले स्थितिमा उत्साहजनक सुधार आएको उहाँले बताउनुभयो ।
‘हामीलाई ढिलढाल गर्ने र थाक्ने छुट छैन’ दाहालले भन्नुभयो ‘हामीले फराकिलो मतान्तरले चुनाव जित्ने हो । हामी अघि बढिसकेका छौं । सबैले अबका १९ दिन पार्टीलाई समय दिऔं । कार्यकर्ताका असन्तुष्टी व्यवस्थापन गरेर मतदातासँग जाउँ ।


