२०८२ फागुन १ शुक्रवार , ०५:०८:५३ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायो

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो ।

जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजरबानीले ४, ब्राड इभान्सले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो । जिम्बावेका ब्रायन बेनेटले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले १/१ विकेट लिए ।

योसँगै जिम्बावे २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ । अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे क्यानडा र यूएई तथा बेलुका सवा ७ बजे अमेरिका र नेदरल्यान्ड्स खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

सम्बन्धित खबर