२०८२ माघ २९ बिहिवार , १२:२०:५७ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग इङ्ल्यान्ड ३० रनले पराजित

बिहिवार, माघ २९, २०८२

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिजले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ । वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले हराएको हो । जीतसँगै वेस्ट इन्डिजले सुपर एटको सम्भावना बलियो बनाएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ६ बल अगावै १६६ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डका साम करन ४३ रनमा अविजित रहे । जाकोब बेथेलले २३ बलमा ४ चौका र १ छक्का सहयोगमा ३३ रन बनाए । वेस्ट इन्डिजका मोतीले ३ विकेट लिए । रोस्टन चेसले २, रोमारियो सेफर्ड र अकिल होसेनले समान १ विकेट लिए ।

मुम्बईको वानखेड़े स्टेडियममा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १९६ रन बनाएको थियो । दोस्रो ओभरमै २ विकेट गुमाएर दबाबमा आएको वेस्ट इन्डिजका लागि रुदरफर्ड सर्वाधिक ७६ रनमा अविजित रहे । इङ्ल्यान्डका लागि जेमी ओभरटन र आदिल राशिदले समान २, जोफ्रा आर्चर र साम करनले समान १ विकेट लिए ।

इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवै समान २ पटकका टी–२० विश्वकप विजेता हुन् । वेस्ट इन्डिज सन् २०१२ र २०१६ तथा इङ्ल्यान्डले २०१० र २०२२ टी–२० विश्वकप जितेको थियो । आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका अन्य खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराउँदा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ ।

दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो । पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको हो ।

सम्बन्धित खबर