२०८२ माघ २८ बुधवार , ०९:४७:०५ बजे

Sajhamanch
'

झापा गोल्डकप २०८२ : एपिएफ सेमिफाइनलमा

बुधवार, माघ २८, २०८२

बिर्तामोड । झापा गोल्डकप अन्तरगत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो ।

खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो । एपिएफका स्ट्राइकर प्रदिप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपिएफको लागि अर्को गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एपिएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै कार्कीले टिमको जित निश्चित गरेका थिए ।

खेलको ८३औँ मिनेटमा गोल गर्दै एपिएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कार्की एक्ला खेलाडी बनेका छन् ।

भुटानको लागि एक मात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा एपिएफले आक्रमक तथा भुटानले रक्षात्मक खेल प्रस्तुत गरेका थिए । एपिएफले खेलको ३ मिनेटमै विपक्षी पोष्टमा आक्रमण सुरु गरेको थियो । एपिएफका दिपेश धिमालले गरेको प्रहार भुटानका गोलकिपरले मुस्किलले जोगाएका थिए । १६औँ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा समिराज थोकरले गरेको अर्को प्रहार भुटानका डिफेन्डरले गोल लाइनबाट बचाए ।

सुरुको २२ मिनेटमै तीन गोल खाएको भुटानले खेलको २८औँ मिनेटमा अग्रता कम गर्ने अवसर पाएको थियो । सोनाम यासेले गोलपोष्ट नजिकै पाएको बललाई सदुपयोग गर्न सकेनन् । त्यस्तै, ७८औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रस बारमा लागेर बाहिरिँदा भुटान स्कोर अन्तर घटाउन चुकेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।

सम्बन्धित खबर