
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित बालकल्याण आधारभूत विद्यालयको २५औं वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा विद्यालय हाताभित्र रजत स्तम्भ अनावरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले रजत महोत्सवको उद्घाटन तथा रजत स्तम्भको अनावरण गरेका हुन् ।
उक्त स्तम्भ आमाबुबा पूर्णिमा–पञ्चबहादुर राईको स्मृतिमा छोराबुहारी स्थानीय धनकुमार–कौशिला राईले निर्माण गरेका हुन् ।
सोही कार्यक्रममा जग्गादाताहरु नरप्रसाद–लक्ष्मी प्रसाईं, मैनादेवी प्रसाईं, सरस्वती प्रसाईं, राधा प्रधान अक्षयकोषदाताहरु जीवन राई, नेत्र बिमली, पुष्प भेटवाल र हीरादेवी श्रेष्ठ, सरस्वती मन्दिरका निर्माणकर्ता राधा–कुशल सुब्बा, चन्दादाता, संस्थापक सदस्य, पूर्व पदाधिकारी एवम् सदस्यहरु गरी ३०० हाराहारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर कार्यपालिका सदस्यद्वय नरेन्द्रबहादुर राई र सन्तोष मेचे, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, महारानीगञ्ज मावि व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा, सल्लाहकार समितिका संयोजक लोकनाथ गौतमलगायतको आतिथ्य थियो ।
विद्यालयका प्रधानाध्यापक डम्बर यादवले विद्यालयको भावी रणनीतिसहितको वर्तमान गतिविधिबारे जानकारी गराएको कार्यक्रममा शिक्षक एवम् विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

शिक्षक देउकुमारी थापाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक भेषराज अधिकारीले गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने रजत महोत्सवमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिने शिक्षक सञ्जु शिवाकोटीले जानकारी दिइन् ।



