काठमाडौँ । घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवर्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सोमबार सार्वजनिक गरिएको छ ।
मिलाप पब्लिकेशनको आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण कार्यक्रमको सभापतित्व पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले गरेका थिए ।
स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सभापति भुसाल, बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधान, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, प्रा.डा. यज्ञेश्वर निरौला, अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल लगायत विशिष्ट साहित्यकारहरुबाट कृतिको संयुक्तरुपमा लोकार्पण गरिएको थियो ।
कृति लोकार्पणपश्चात् सर्जक विमला निरौलालाई विशिष्ट अतिथि प्रमोद प्रधानले दोसल्ला, प्रमुख अतिथि रोदनले माला तथा मिलापका अध्यक्ष भूसालले मिलाप कभर सम्मान गरेका थिए ।
प्रमुख अतिथि रोदनले राष्ट्रकवि घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका कृति र वर्तमानका नेपाली साहित्यिक कृतिहरु, त्यसबेलाको साहित्यिक पुरस्कार र वर्तमानका पुरस्कारहरुको तुलना गर्दै स्रष्टा विमला निरौलाका कृतिहरु पछिसम्म बाँचिरहने कुरा व्यक्त गरेका थिए । रोदनले अन्य पेशामा दाग बनाएका व्यक्तिहरु पनि पैसाका ताकतमा साहित्यका पेशामा आई दाग मेट्ने गरेकाले विकृति फैलिएको कुरा बताएका थिए ।
साहित्यकार भैरवी भूगोलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा. यज्ञश्वर निरौलाले कृतिमाथि समीक्षा गरेका थिए । निरौलाले सरल सरस र सुललित प्रस्तुतिका कारण कथाहरु एकै बसाईमा झर्को नलागी पढिने र मन छुने रहेको बताएका थिए ।
२९ कथामध्ये १८–२० ओटा कथा प्रेमसम्बन्धी शीर्षक रहेको र अन्य कथाहरुको विषयवस्तु र घटना पनि प्रेममय नै भएको बताएका थिए ।
अनेसासकी निवर्तमान महासचिव तथा लोकार्पित कृतिका स्रष्टा विमला निरौलाले कृति लेखनका विषयमा बताएकी थिइन् । स्रष्टा मन्तव्यका क्रममा उपस्थित अतिथिहरुको आशीर्वाद एवं मायाका कारण भावविह्वल बनेकी स्रष्टाका आँखाबाट प्रेमाश्रु खसेका थिए ।
उक्त कृति लोकार्पण कार्यक्रममा आमन्त्रित तथा उपस्थित अतिथिहरुलाई लोकार्पित कृतिका सम्पादक रमेश दाहालले शाब्दिक स्वागत गरेका थिए ।


