
बिर्तामोड । प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले सामाजिक मर्यादा र लोकतान्त्रिक संस्कार जोगाउनु सबैको दायित्व रहेको बताउनु भएको छ ।
केही दिनअघि अर्जुनधारामा मन्तव्य दिइरहेका बेला पर्खाल बाहिरबाट एक महिला र नवजात शिशुले आफूलाई नियालिरहेको तस्बीर देखेपछि मनमा धेरै कुरा आएको बताउँदै घिमिरेले समाजप्रति जिम्मेवारीबोध गर्नुपर्ने बताउनु भएको हो ।
उहाँका अनुसार नेपाली समाज दुईदेखि चार पुस्तासम्म मिलेर बस्ने परम्परामा आधारित छ, जहाँ ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने संस्कारले समाजलाई जोडेर राखेको छ । ‘हाम्रो समाज विभिन्न जातजाति, भाषा र संस्कृतिले बनेको छ । यही विविधता भित्र आपसी सम्मान नै हाम्रो पहिचान हो,’ उहाँको भनाई थियो ।
एक उम्मेदवार र जनप्रतिनिधिका रूपमा आफ्नो जीवन सबैका लागि खुला किताबजस्तै भएको भन्दै उहाँले सबै उमेर समूहका नागरिकले आफूलाई नियाल्न सक्ने बताउनु भयो । ‘महिला र नवजात शिशुले जसरी मलाई हेरिरहेका थिए, त्यसरी नै समाजका सबै वर्गले जनप्रतिनिधिलाई नियालिरहेका हुन्छन्,’ उहाँको स्पष्टोक्ति थियो ।
तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र सार्वजनिक जीवनमा ज्येष्ठ व्यक्तित्वलाई अपमान गर्ने, घृणात्मक अभिव्यक्ति दिने र होच्याउने प्रवृत्ति बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
‘राजनीतिमा घृणा मिसिएका कठोर शब्द प्रयोग गर्नेहरूलाई समर्थन बढ्दै जानु लोकतन्त्रका लागि राम्रो संकेत होइन’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा आफ्नो इनबक्समा आएका प्रश्नहरूलाई सकेसम्म जवाफ दिइरहेको तर कतिपय टिप्पणी सभ्य समाजमा बोल्न, सुन्न र लेख्नै नसकिने खालका रहेको उहाँले बताउनु भएको छ ।
निवर्तमान सभामुख घिमिरेले निर्वाचन आउँछन् र जान्छन्, पुस्ता फेरिन्छन् तर लोकतन्त्र र सामाजिक सम्बन्धलाई कसिलो बनाउने जिम्मेवारी सधैं सबै नागरिकको हुने धारणा राख्नु भएको छ । ‘चुनाव मात्र होइन, हाम्रो व्यवहार, बोली र लेखाइले पनि लोकतन्त्र बलियो वा कमजोर बनाउँछ’ उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।


