
काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ ।
अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभएको छ ।
यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।
डा। गौतमका अनुसार अहिलेको खोप अभियानमा झन्डै साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य छ । खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।
एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ ।
गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो । अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।
नेपालमा हरेक वर्ष दुई हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।


