
भोजपुर । भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० को लागतमा पक्की पुल निर्माण भएको छ । निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ ।
स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानको उक्त पुल ४६ मिटर लामो र ६ मिटर चौडा छ । पुलको दुवैतर्फ एक दशमलव २० मिटर चौडा पैदल मार्गसमेत निर्माण गरिएको छ ।
पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका सर्वसाधरण लाभान्वित भएका छन् ।
कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा जोखिमपूर्ण थियो । यो पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई जोडेको छ ।


