
काठमाडौं । रााजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतसमक्ष अनुमति लिनुपर्ने भएको छ ।
निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका गाडी वा चारवटा घोडा प्रयोग गर्न सक्नेछन् ।
पालिकामा, महानगर र उपमहानगरका मेयर वा उपमेयर दुईवटा, नगरपालिका वा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष एउटा र वडा तहका उम्मेदवारले एउटा गाडी प्रयोग गर्न पाउनेछन् । गाडी सञ्चालन नहुने ठाउँमा घोडा प्रयोग गर्न सकिने व्यवस्था पनि छ । प्रचारप्रसारका लागि मौन अवधिमा गाडीको प्रयोग गर्न पाईनेछैन ।
अनुमति बिना गाडि प्रयोग गरेमा वा मौन अवधिमा प्रयोग भएमा ती गाडी नियन्त्रणमा लिएर चुनावपछि मात्रै फिर्ता गरिनेछ । मतदानको दिन अनुमति प्राप्त गाडीबाहेक अरु गाडी चलाउन नपाइने भएको छ ।
उम्मेदवार, सुरक्षाकर्मी, अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक र आयोगले तोकेका अन्य निकायलाई भने विशेष अनुमति दिइनेछ । एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा लगायत आकस्मिक सेवाका गाडीले भने अनुमति लिनु पर्नेछैन ।


