२०८२ माघ २० मङ्गलवार , ०९:२५:०७ बजे

Sajhamanch
'

झापा गोल्डकपको उद्घाटनमा डोमालालको शालिक अनावरण गरिने

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । प्राकृतिक झारसहित नेपालकै राम्रो फुटबल मैदान रहेको जमिनका दाता डोमालाल राजवंशीको शालिक अनावरण गरिने भएको छ ।

करिव दुई वर्षदेखि गोल्डकपको सचिवालयमा राखिएको डोमालाल राजवंशीको अर्धकदको शालिक यही माघ २४ गते उद्घाटन गरिने सातौं गोल्डकपको उद्घाटनका दिन रंगशालामा अनावरण गरिने भएको हो ।

गोल्डकपका पूर्व अध्यक्ष स्वर्गीय विनोद बस्नेतले उक्त शालिक भारतबाट निर्माण गरेर ल्याएका थिए । बस्नेतको निधनपछि डोमालालको शालिक स्थापित गर्ने र असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीको घर बनाइदिने योजना अलपत्र परेको थियो ।

उक्त विषयलाई लिएर राजवंशी समुदायले गुनासो गर्दै आएका थिए । हिजोमात्र गोल्डकपका अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी, मोरङका जिल्ला सचिव रुपेश राजवंशीबीच छलफल भएको थियो ।

छलफलमा जग्गा विवादका कारण डोमालाल राजवंशी रंगशाला सार्नुपर्ने अवस्था रहेकोले तत्कालका लागि अस्थायी रुपमै भएपनि शालिकलाई अनावरण गरी राजवंशी समुदायको माग सम्बोधन गर्ने मौखिक सहमति भएको हो ।

स्टेजको अगाडिपट्टि सो शालिक राखिने भएको छ । जग्गा विवादका कारण रंगशाला सार्नुपर्ने अवस्था आउँदा शालिक भत्काउनु पर्छ भनेर आफूहरुले शालिकलाई स्थापित नगरेको बताउँदै अध्यक्ष गिरीले तत्कालका लागि अस्थायी रुपमा राख्ने र पछि जग्गाको टुंगो लागिसकेपछि स्थायी र दीगोरुपमा सालिक पुनःस्थापित गरिने जानकारी दिए ।

त्यस्तै पूर्व अध्यक्ष स्व. बिनोद बस्नेतको सपना साकार पार्न गोल्डकप पछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने अध्यक्ष गिरीले जानकारी दिए ।

स्व. बस्नेतले घर बनाइदिनका लागि सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका थिए । त्यस अभियानलाई निरन्तरता दिने गिरीको भनाई छ ।

छैठौं संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने बित्तिकै अध्यक्ष बस्नेत डोमालालको शालिक र घर निर्माण गरिदिने अभियानमा लागेका थिए ।

स्व. डोमालालका सन्तानका लागि बस्नेतले आफैंबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौं गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे ।

यसवर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति, नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।

सम्बन्धित खबर