२०८२ माघ २० मङ्गलवार , ०४:५४:५५ बजे

Sajhamanch
'

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

मङ्गलवार, माघ २०, २०८२

कञ्चनपुर । भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।

भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच वटा नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ ।

‘नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ’, जोशीले भन्नुभयो, ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखीकरणसमेत गराइएको छ ।’ उहाँले कोभिड–१९ को समयमा बनाइएका आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको बताउनुभयो ।

भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताउनुभयो ।

महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताउनुभयो । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर