२०८२ माघ १९ सोमवार , १२:१६:१३ बजे

Sajhamanch
'

भारतसँगको खेल अस्वीकार गर्दै टी–२० विश्वकपमा सहभागी हुने पाकिस्तानको निर्णय

सोमवार, माघ १९, २०८२

काठमाडौं । पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ । तर समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको छ ।

फेब्रुअरी १५ अर्थात आउँदो फागुन ३ गतेका लागि तय भएको भारतसँगको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत सार्वजनिक गरेको हो ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पत्रकार सम्मेलनमा आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा रहेको दाबी गरेका थिए ।

यो घोषणा पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पीसीबी अध्यक्ष नक्वीबीच भएको महत्त्वपूर्ण बैठक सकिएको केही मिनेटमै सार्वजनिक गरिएको हो ।

नक्वीले गएको महिना पनि प्रधानमन्त्रीसँग भेट गरी विश्वकप सहभागिताबारे छलफल गरेका थिए । त्यसबेला उनले अन्तिम निर्णय जनवरी ३० वा फेब्रुअरी २ सम्म सार्वजनिक गरिने बताएका थिए ।

यसअघि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेपछि पाकिस्तानले पनि प्रतियोगितामा सहभागिता पुनः विचार गरिरहेको थियो ।

बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिइएको थियो । बंगलादेश क्रिकेट बोर्डले बीसीसीआईको निर्देशनपछि बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट हटाइएपछि यो कदम चालेको बताइएको छ ।

यो विषयमा विभिन्न छलफल भए पनि सहमति हुन नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने भन्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो र २४ घण्टाको समयसीमा पनि दिएको थियो ।

भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ अर्थात माघ २४ गतेदेखि शुरू हुँदैछ । यस प्रतियोगितामा नेपालसहित २० टोली सहभागी हुनेछन् ।

सम्बन्धित खबर