२०८२ माघ १८ आइतवार , १०:४६:१८ बजे

Sajhamanch
'

झापा ४ : ‘हेट्रिक’को लक्ष्यसहित मैदानमा एमालेका साँवा

आइतवार, माघ १८, २०८२

झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ४ को राजनीतिक सरगर्मी तीव्र बनेको छ ।

हरेकजसो उम्मेद्वारहरू घरदैलो अभियानमार्फत मतदातासम्म पुगिरहेका छन् भने मतदाताहरू पनि विकल्पबारे गम्भीर छलफलमा जुटिरहेका छन् । यही सन्दर्भमा नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बूको घरदैलो कार्यक्रमले विशेष गति लिएको छ ।

साँवा यस क्षेत्रबाट चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघि दुई पटक निर्वाचित भइसकेका उनी अनुभवी र परीक्षण भइसकेका उम्मेद्वारका रूपमा चिनिन्छन् । विगतका कार्यकालमा स्थानीय पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक पहुँच विस्तारमा देखिएको सक्रियताले उनको राजनीतिक आधार बलियो बनाएको स्थानीय बासिन्दाहरु बताउँछन् । यही कारण यसपटक उनी तेस्रो जीत अर्थात् ‘हेट्रिक’को लक्ष्यसहित मैदानमा छन् ।

राजनीतिक रूपमा हेर्दा झापा–४ मा एमालेको संगठनात्मक संरचना तुलनात्मक रूपमा मजबुत मानिन्छ । वडा–तहसम्म फैलिएको संगठन, कार्यकर्ताको सक्रिय परिचालन र केन्द्र–प्रदेश–स्थानीय तहबीचको समन्वयले साँवाको अभियानलाई धार दिएको छ । घरदैलो क्रममा उनी मतदातासँग प्रत्यक्ष संवाद, विगतका कामको मूल्यांकन र आगामी योजनाको स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्, जुन अन्य उम्मेद्वारमा अपेक्षाकृत कम देखिन्छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका देउमान थेवे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शम्भु ढकाल प्रमुख प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । कांग्रेस परम्परागत मतदातामा भरोसा राखेर अघि बढिरहेको छ भने रास्वपा नयाँ राजनीतिक शक्तिका रूपमा असन्तुष्ट मत आकर्षित गर्ने प्रयासमा छ । तर स्थानीय तहमा अनुभवको कमी, संगठन विस्तारको चुनौती र स्पष्ट विकास एजेन्डाको अभावले उनीहरूलाई कठिनाइ पर्ने संकेत देखिन्छ ।

वर्तमान राजनीतिक समीकरण, संगठनात्मक शक्ति र मतदातासँगको प्रत्यक्ष सम्बन्धका आधारमा एलपी साँवा लिम्बू हालका प्रतिस्पर्धीहरू भन्दा अघि देखिएका छन् । अन्तिम निर्णय मतदाताको हातमा भए पनि चुनावी मैदानको वर्तमान चित्रले उनलाई जीततर्फ उन्मुख उम्मेद्वारका रूपमा प्रस्तुत गरिरहेको छ ।

यसैबीच नेकपा एमाले झापा क्षेत्र नम्बर ४ ले चुनावी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रित रणनीति अघि बढाएको छ । पार्टीका केन्द्रीय कमिटी सदस्य मनोज ताम्लीको संयोजकत्वमा पाँच सय सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेर एमालेले निर्वाचन अभियान सञ्चालन सुरु गरेको हो ।

पार्टीले क्षेत्रभित्रका प्रत्येक पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटीलाई समेत सक्रिय रूपमा परिचालन गरिसकेको जनाएको छ । घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा चुनावी व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यले संगठनलाई तल्लो तहसम्म चलायमान बनाइएको एमाले झापा क्षेत्र नम्बर ४ ले जानकारी दिएको छ ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)ले स्पष्ट मतान्तरसहित अग्रता कायम गरेको देखिएको छ । निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बूले ४३ हजार ५१५ मत प्राप्त गर्दै सबैभन्दा बढी मत हासिल गरेका थिए ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे लिम्बुले २६ हजार ८२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहन सफल भएका थिए । कांग्रेसले उल्लेखनीय मत पाएको भए पनि एमालेसँगको मतान्तर ठूलो देखिएको थियो ।

अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले १४ हजार ६९ मत प्राप्त गरेका थिए । नयाँ राजनीतिक शक्तिका रूपमा मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मत पाएको भए पनि मुख्य दुई दलको मतसंख्या भन्दा कम रहेको थियो ।

यसरी हेर्दा झापा क्षेत्र नम्बर ४ मा २०७९ को प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले स्पष्ट अग्रता कायम गरेको देखिन्छ । नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेखनीय मतसहित तेस्रो स्थानमा देखिएको थियो ।

निर्वाचन परिणामले झापा–४ मा एमालेको संगठनात्मक बल, मतदाता आधार र राजनीतिक प्रभाव मजबुत रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित खबर