२०८२ माघ १६ शुक्रवार , ०६:५१:२८ बजे

Sajhamanch
'

सामाजिक सञ्जाल स्वस्थ बहसको चौतारी कि अफवाहको फोहोरदानी

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालत जलेको प्रसङ्गमा दिएको अभिव्यक्तिमा बालेन्द्र शाहको नाम जोडेर भ्रम फैलाइएको छ । एमालेका सचिव एवम् भक्तपुर २ का उम्मेदवार महेश बस्नेतसहित धेरैले प्रधानन्यायाधीशको अभिव्यक्ति भन्दै फेसबुकमा राखेको फोटो तथ्य जाँच गर्ने क्रममा भ्रामक रहेको पुष्टि भयो । प्रधानन्यायाधीश राउतले बागलुङमा गरेको सम्बोधनमा कतै पनि बालेन्द्रको नाम नलिए पनि उहाँले बोलेको प्रसङ्गलाई तोडमोड गरी भ्रम फैलाइएको पाइएको हो ।

यस्तै सामाजिक सञ्जालमा फैलिएको अर्को भ्रम हो, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तानेको जस्तो देखिने फोटो । सामाजिक सञ्जालमा सक्रिय भइरहने सरकारका एक जना पूर्वसचिव र आफूलाई स्वास्थ्य अभियन्ता भनेर चिनाउने डाक्टरले समेत फेसबुकमा राखेको फोटोमा ओली अर्का पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसँगै बसेर चुरोट तानिरहेको देखिन्छ । तथ्य जाँचका क्रममा ओलीले चुरोट तानेको फोटो सम्पादन गरेर बनाइएको पुष्टि भएको छ । झन्डै २६ वर्ष पहिला खिचिएको तस्वीरलाई सम्पादन गरेर चुरोट खाएजस्तै बनाई सामाजिक सञ्जालमा भाइरल गरिएको हो ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीले राजतन्त्रको समर्थन गरेको भन्दै अर्को भ्रामक स्टाटस पनि फेसबुकमा भाइरल भयो ।

चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जाल सूचनाको चौतारी होइन, यसैगरी अफवाहको बजारजस्तो देखिन थालेको छ । तथ्यभन्दा भावना, प्रमाणभन्दा आरोप र बहसभन्दा घृणाले ठाउँ लिएको छ । अपत्यारिला, अविश्वसनीय र मिथ्या सूचनाको बाढीले नागरिक अलमलमा परेका छन् । दुःखद कुरा के छ भने, यस्ता सूचना फैलाउनेहरूमा नेता, उम्मेदवार, कार्यकर्ता, उनीहरूका समर्थक र समाजका अगुवा कहलिनेहरू नै अग्रपङ्क्तिमा देखिन्छन् ।

चुनाव लोकतन्त्रको उत्सव हो । तर अहिलेको सामाजिक सञ्जाल हेर्दा चुनाव उत्सवभन्दा पनि डर, शङ्का र घृणाको प्रदर्शनी जस्तो लाग्छ । मिथ्या सूचनाको सबैभन्दा ठूलो असर विश्वासमा पर्छ । संस्थाप्रति विश्वास घट्छ, प्रक्रियाप्रति शङ्का बढ्छ र अन्ततः ‘सबै उस्तै हुन्’ भन्ने निष्कर्ष जन्मिन्छ । यही सोच लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो । जब नागरिकले सत्य र झुट छुट्याउन छोड्छन्, त्यति बेला सत्य आफैँ कमजोर बन्छ ।

अझ गम्भीर कुरा—यस्ता सूचना फैलाउने जिम्मेवारी बोकेका पात्रहरू नै आफूलाई निर्दोष ठान्छन् । नेता भन्छन्, ‘समर्थकले लेखेको हो ।’ कार्यकर्ता भन्छन्, ‘हामीले त शेयर मात्रै गरेका हौँ’, अगुवा भन्छन्, ‘मैले त जनभावना बोलेको हुँ ।’

नेता, कार्यकर्ता र अगुवाहरु समाजका दिशानिर्देशक हुन् । उनीहरूको एक शब्दले हजारौँलाई प्रभावित गर्छ । त्यसैले उनीहरूले बोलेको, लेखेको र शेयर गरेको हरेक कुरा सार्वजनिक जिम्मेवारीसँग जोडिएको हुन्छ । अगुवा भनिनेहरूले त झन् संयम, विवेक र तथ्यको उदाहरण देखाउनुपर्छ । यदि अगुवाकै बोली घृणाले भरिएको छ भने समाज कसरी शान्त रहन्छ ?

मिथ्या सूचना रोक्न नियम मात्रै होइन, नियत पनि उस्तै प्रष्ट चाहिन्छ । सत्य बोल्ने साहस, झुट नबोल्ने प्रतिबद्धता र गल्ती भए सच्याउने संस्कार आवश्यक छ । चुनाव जित्न जे पनि जायज ठान्ने सोच नै अहिलेको समस्या हो ।

चुनाव प्रचार शुरू भएको बेला नागरिक पनि सचेत हुनु आवश्यक छ । कुनै पनि सूचना विश्वास गर्नुअघि स्रोत को हो, कुन सन्दर्भमा भनिएको हो र विश्वसनीय माध्यम वा तथ्य जाँच निकायले पुष्टि गरेको छ कि छैन भन्ने जाँच गर्नुपर्छ । सामाजिक सञ्जालको पोस्टभन्दा आधिकारिक वक्तव्य, पूर्ण भिडियो वा विश्वसनीय समाचारलाई प्राथमिकता दिनुपर्छ । शङ्का लाग्ने सामग्री तुरुन्तै शेयर गर्नुको सट्टा तथ्य बुझ्ने बानी बसाल्दा मात्र भ्रम फैलिनबाट रोकिन्छ र जिम्मेवार नागरिक बन्न सकिन्छ । तर सबैभन्दा ठूलो जिम्मेवारी नेता, कार्यकर्ता र अगुवाहरूकै हो । सामाजिक सञ्जाल स्वस्थ बहस गर्ने चौतारी हो, अफवाह फाल्ने फोहोरदानी होइन । तथ्य तौलिएर र सत्य जाँचेर लेख्ने बानीले मात्र यो चौतारी सभ्य बन्छ, नत्र भ्रमको भीडमा सत्यको आवाज हराउँछ ।

शुक्रवार, माघ १६, २०८२ | Uncategorized