
काठमाडौं । निजी क्षेत्रले दलहरुका घोषणापत्रमा अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र उर्जा, पर्यटन, निर्माण क्षेत्र प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएको छ ।
दलहरुका घोषणापत्र व्यवहारिक, कार्यान्वयनमुखी र रोजगारी सिर्जना गर्ने खालका हुनुपर्ने उद्योगी/व्यवसायीले बताएका छन् । उनीहरुकाअनुसार अबको चुनावपछि राजनीतिक स्थायित्व कायम हुनुपर्ने र लगानीको वातावरणका लागि नीतिगत रुपमा सुधारको खाँचो रहेको छ ।
स्वतन्त्र उर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले राजनीतिक दलहरुले कृषि, पर्यटन, सुचना प्रविधिदेखि खनिजसम्मका कुरा गरे पनि उर्जा विकासमा अनुदार रहेको टिप्पणी गर्नुभयो । अध्यक्ष कार्कीकाअनुसार देशलाई समृद्धिको बाटोमा लैजाने भए उर्जा क्षेत्रको विकासका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।
त्यस्तै पर्यटन क्षेत्रका लागि मुख्य दुई ठूला एयरपोर्ट सञ्चालनको सुनिश्चिता खोजिएको छ । अर्बौं लगानी गरेर पनि उचितरूपमा सञ्चालनमा नआएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याएर पर्यटक भित्राउने सुनिश्चितता दलहरुको घोषणापत्रमा आउनुपर्नेमा जोड छ ।
नेपाल होटल एशोसिएन (हान) का अध्यक्ष विनायक शाहले अब आउने नेतृत्वले ५० लाख पर्यटक नेपालमा भित्राउने गरी घोषणापत्र तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले छाता ऐन चाहिरहेको बताउनुभयो । यसबाटै देशमा रोजगारी सिर्जना गर्ने, आर्थिक उन्नति गर्ने र सबै युवालाई रिटर्न गराउन लाग्नुपर्ने उहाँको भनाइ छ ।
उद्योगी व्यवसायीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रमाथि हुने आक्रमण रोक्न राजनीतिक दल र नागरिकबाट दृढ प्रतिबद्धताको माग पनि गरेका छन् । नीति अस्थिरता, भ्रष्टाचार र नकारात्मक प्रचारका कारण निजी क्षेत्र त्रास र अनिश्चिततामा परेको भन्दै उद्योगीहरूले लगानीमैत्री वातावरणका लागि सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताएका छन् ।


