२०८२ माघ १६ शुक्रवार , ०४:१२:४५ बजे

Sajhamanch
'

एमालेले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । नेकपा (एमाले)ले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले आफूहरुको घोषणापत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने जानकारी दिनुभयो ।

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको लागि घोषणापत्र तयार पार्नुअघि एमालेले सुझाव सङ्कलन गरिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरी काम भइरहेको एमालेले जनाएको छ ।

मुख्य दलहरु घोषणापत्र लेखनमा व्यस्त छन् । यसअघि राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेको छ । यसैबीच एमाले महासचिव पोखरेलले चीन र भारतकाविरुद्धमा शक्ति देशहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने बताउनुभएको छ । उहाँले झापा क्षेत्र नम्बर–५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरिएको पनि दाबी गर्नुभयो ।

झापा–५ मा एमालेबाट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहलगायत चुनावी प्रतिस्पर्धामा हुँदा चर्चा र विशेष चासोको क्षेत्र बनेको छ ।