
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताउनु भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताउनु भएको हो । उहाँहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताउनु भयो।
उहाँहरुले भ्रष्टाचार के हो ? घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो ? भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताउनु भयो । उहाँले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताउनु भयो। नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालाले भ्रष्टाचाररहित देश बनाउने सबैको चाहना भएपनि कसले र किन हुन दिइएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सबैको उद्देश्य सदाचार र असल समाज निर्माण गर्नु रहेको बताउनु भयो। उहाँले भ्रष्टाचारमुक्त नेपाल र स्वाभीमानी नेपाली भएर बस्ने रहर सबैको रहेको बताउनु भयो ।
बैठकमा बोल्दै अन्य सांसदहरुले सदाचार नीतिमा गैरसरकारी संस्थाहरुबारे पनि स्पष्ट रुपमा लेखिनुपर्ने बताउनु भयो। एन्जिओ, आइएन्जिओको प्रभाव नेपालमा धेरै रहेकाले सकारात्मक कुराबाट फाइदा लिएर नकारात्मक कुरालाई रोक्नुपर्ने बताउनु भयो ।
उहाँहरुले बोलाएका कस्ता कार्यक्रमा जाने र कस्ता कुरामा नजाने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताउनु भयो । सञ्चारमाध्यमहरुले जे भनिदिए पनि हुने अवस्थाको अन्त्य गर्न पनि सदाचार नीति जरुरी रहेको बताउनु भयो।


