
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले तीन जना उम्मेदवार र तीनवटा सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार डा. चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो ।
सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ । यस्तै, राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको होे ।
काठमाण्डौ निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार अधिकारीलाई अष्टेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फारम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नुका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो । देउती आधारभूत विद्यालय भैरवी गाउँपालिका ३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।


