
काठमाडौं । अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । सोमबार फेरि अर्को प्रणाली आउने र हिजोजस्तै पानी पर्ने मौसमविदको अनुमान छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार आउँदो सोमबारदेखि पानी पार्ने अर्को प्रणाली आउँदैछ ।
यसले हिजोजस्तै वर्षा गराउनेछ । आज उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपात भए पनि धेरै ठाउँको मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मधेश र कोशी प्रदेशबाहेक अरु ठाउँमा वर्षा र हिमपात भएको छ । पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा पानी परेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाण्डौ उपत्यकासहित तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा वर्षा र हिमपातको सम्भावना छ । लामो खडेरीपछि हिउँदे वर्षा भएसँगै किसान उत्साहित भएका छन् ।


