२०८२ माघ १४ बुधवार , १२:१६:१० बजे

Sajhamanch
'

झापाका पत्रकारहरुको इतिहास लेखन माथि पाठकीय दृष्टि

बुधवार, माघ १४, २०८२
  • गोपाल काफ्ले

अंग्रेजी वर्ष सन् २०२६ सुरु हुँदै गर्दा झापाली स्रष्टा अनि अभियन्ताहरुले यस वर्षलाई पठन संस्कृतिको वर्षका रुपमा मनाउन अभियान सुरु गरेका छन् । दिन प्रतिदिन पढ्ने मान्छेहरु कम हुँदै गएको महसुस गरी अभियन्ताहरु पठन संस्कृतिको कार्यान्वयनमा जुटेका हुन् । पढ्नका लागि नेपाली साहित्य आकाशमा अनगिन्ति सिर्जनाहरु छँदैछन् । यतिमात्र होइन, अंग्रेजी र हिन्दी भाषामा पनि पुस्तकहरु अप्राप्य छैनन् । पढ्नका लागि पुस्तकहरु प्रसस्त छन् अनि स्रष्टाहरु निरन्तर नयाँ नयाँ विधामा आफ्ना सिर्जनाहरु पस्किइरहेका छन् । यही मेसोमा नयाँ वर्ष सन् २०२६ लाई अभियन्ताहरुले पठन संस्कृतिको वर्षका रुपमा मनाउन सुरु गर्नुभएको हो भन्न सकिन्छ । प्रस्तुत परिचर्चा पठन संस्कृतिको वर्षका सन्दर्भमा नभई यसैको अवयव पुस्तकका विषयमा केन्द्रित छ ।

सन् २०२५ मा प्रकाशित दर्जनौं कृतिहरु हामीले हेर्न र अध्ययन गर्न पायौं । यिनै मध्ये दुईवटा पुस्तक माथि प्रस्तुत आलेखमा संक्षिप्तमा परिचयात्मक विमर्शको प्रयास गरिएको हो । वर्ष सन् २०२५ को मध्यतिर अर्थात् जेठ, २०८२ मा प्रकाशित सदरमुकाम भद्रपुरको गाथा : स्थापना, आरोह–अवरोह र विक्रमणको वृतान्तको बारेमा अनि भदौ, २०८२ मा प्रकाशित त्यो झापा : औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार माथि संक्षिप्तमा समीक्षा गरिएको छ ।

चर्चाको सुरुवात गरौं यी दुवै कृतिहरुको समानताको प्रसंगबाट । यी दुई कृतिहरु झापासँग सम्बन्धित छन् भने यिनले इतिहासको गर्तमा बिलाउँदै गएका अनगिन्ति तथ्यहरु आजको पुस्तासमक्ष पस्किएका छन् । कृतिकार दुवैजना सिद्धहस्त पत्रकारहरु हुन् । पत्रकारले भए गरेको र देखेकामात्र लेख्छ होइन, खोजेर लेख्छ, लुकाइएका विषयहरु खोज्छ मात्र भन्ने सुनेका आम मानिसलाई पत्रकारले इतिहासको गर्भमा लुकेका तथ्यहरु वर्तमान र भावी पुस्तालाई समर्पण पनि गर्न सक्तछ भन्ने यी स्रष्टाहरुले प्रष्ट्याएका छन् । आज लेखेको समाचार भविष्यका लागि इतिहास बन्छ भन्ने कुरा समाचारको परिभाषामा पढेका हामीलाई पत्रकारका यी दुई कृतिहरु उपहारका रुपमा प्राप्त भएका छन् । इतिहास लेख्न सजिलो विषय होइन तर, यस्तो जटिल विषयमा पत्रकारिता पृष्ठभूमिका दुई अग्रजहरुले एउटै वर्ष दुई भिन्न परिवेशका पुस्तक पस्केर झापाली समाजलाई गहकिलो उपहार प्रदान गरेका छन् ।

कृतिकार तीर्थ सिग्देलले उ बेलाको झापा ब्यहोरेका आजका ज्येष्ठ नागरिकहरुसँग कुराकानी गरेर तात्कालीन समयको अवस्था त्यो झापा : औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार मार्फत् चित्रण गरेका छन् ।

यता अर्का स्रष्टा गोपाल गिरीले नेपालकै पुरानो मध्येको एक शहर, वि. सं. २००८ सालमा नै नगरपालिका घोषणा भएको र झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुरको बारेमा सदरमुकाम भद्रपुरको गाथा : स्थापना, आरोह–अवरोह र विक्रमणको वृतान्त पस्किएका छन् ।

‘सदरमुकाम भद्रपुरको गाथा’मा ३८ वटा विभिन्न विषयहरु समाविष्ट छन् । ३७० पृष्ठको सो पुस्तकमा केही वर्ष पहिलेसम्म ‘गाउँ उन्मुख नगरपालिका’ भन्ने गरिएको भद्रपुरको इतिवृत्ति उल्लेख छ । उक्त पुस्तकमा भूमिका लेख्दै अग्रज पत्रकार नकुल काजीले भनेका छन् –

शुरु विन्दुको धूपगाछी नाम कहिले, कसरी, कसका वा कस–कसका सल्लाहका आधारमा ‘भद्रपुर’ बन्न गयो ? यसका प्रारम्भिक कथा के–कस्ता छन् ? प्रारम्भमा यहाँ कुन कुन जात जातिको दुखिया बस्ती थियो ? भन्नेदेखि यस ठाउँमा ब्यापार व्यवसायी कहिलेदेखि प्रविष्ट भए ? भद्रपुरका धरोहर मानिने अग्रजहरु को को हुन् इत्यादि सबै जानकारी प्रदत्त विषयका रेशा रेशा यसमा समाविष्ट छन् । यस क्षेत्रको जेठो पुस्तकालय, जेठो माद्यमिक विद्यालय, जेठो उच्च शिक्षालय (कलेज–क्याम्पस) र तिनका विकास, जेठा साहित्य र सामाजिक संघ–संस्था, जेठा उद्योगहरु आदि र तिनका समय सापेक्ष विकासक्रमका प्रत्याभूतिबाट प्रेरित ताजा अवस्था के र कुन अवस्थामा विद्यमान छन् ?

अग्रज कलमजीवी नकुल काजीको यिनै हरफहरु पढ्दामात्र पनि भद्रपुरको गाथामा के र कस्ता विषयले स्थान पाएका छन् भन्ने कुरा प्रष्ट हुन्छ । कृतिकार गिरी स्वयम्ले भनेका छन् –
कुनै ठाउँको सय–डेढ सय वर्ष अघिको छरपष्टिएको इतिहासलाई समेटेर लिपिबद्ध र व्यवस्थित गर्ने प्रयास हो यो मेरो । विगतका पल पल अग्रजहरुको योगदान कति महत्वका थिए र उनीहरुले त्यो धूपगाछीलाई समुन्नत शहर कसरी बनाए भन्ने तथ्य आख्यानजस्तो लाग्न थालेको यो बेलामा यस पुस्तक पढ्ने कसैलाई पनि आहा …… पुरानो भद्रपुर त यस्तो पो रहेछ भन्ने लाग्यो भने पुस्तक प्रकाशनले सार्थकता पाएको मलाई महसुस हुनेछ ।

कृतिकार गिरीले भद्रपुरमा बसोबास गर्ने जातजातिहरु, यहाँका धरोहरहरु, म्युनिसिपालिटी–ग्रामपञ्चायत–नगरपालिका बनाउँदाको इतिवृत्तिहरु, शिक्षालय–क्याम्पस–शिक्षासेवीहरु, मठ–मन्दिर–गुम्बा–मस्जिद लगायत धार्मिक क्रियाकलापहरु हरेकमाथि मसिनो गरी तथ्यहरु पस्केको पाइन्छ ।

अर्का स्रष्टा सिग्देलले आफ्नो ३१० पृष्ठको कृति त्यो झापा : औलोको प्रकोप, बसाइँसराई र भूमिसुधारमा राणा शासन कालदेखिको यथार्थ घटना जीवित पात्रहरु मार्फत् सुनाएका छन् । औलोको प्रकोप : औलोको घर जताततै डर, दक्षिणी झापा : जमिन्दारहरुको जगजगी, शिक्षाको धिपधिपे प्रकाश, पहाड, असाम अनि झापा, छोराछोरी पढाउन झापा जस्ता शीर्षकमा तत्कालीन झापाको बयान गरेका छन् ।

आजको झापा बनाउन र चिनाउन योगदान गर्ने तमाम मानिसहरुबारे पाएसम्मको विवरण समावेश गरेका सिग्देलले यो पुस्तक किन लेखियो भन्ने पनि पाठकमाझ प्रष्ट्याएका छन् । लेखक सिग्देलले भनेका छन् –

मुलतः यो किताब त्यो कालखण्डको कथा हो, पीडाको आवाज हो, जतिबेला नेपालमा राणा शासनको जगजगी थियो र प्रजातन्त्रका लागि मानिसहरु छट्पटाइरहेका थिए । तराईमा औलो, कालाजार, बिफर र हैंजाको प्रकोप थियो । अनि पहाडका मानिसहरु खान नपाएर मर्ने अवस्थामा थिए । त्यो झापा : औलोको प्रकोप, बसाइँसराई र भूमिसुधार किताब त्यही समयको प्रतिविम्ब हो । सचित्र वर्णन हो र जीवित पात्रहरुको बयान हो ।

अर्थात्, माथि उल्लेखित दुवै कृतिहरु झापाको इतिहास जान्न बुझ्न अध्ययन गर्न अनि गणेषण गर्न चाहनेहरुका लागि उपयोगी सन्दर्भ ग्रन्थका रुपमा तयार भएका छन् । दुवै स्रष्टाहरुले लामो समयको खोजीनीति, तथ्यहरुको संकलन एवम् सयौं मानिसहरुसँग कुराकानी गरेर ‘उ बेलाको यथार्थ उत्खनन’को प्रयास गरेका छन् । यसर्थ दुवै कृतिका सर्जकहरु धन्यवादका पात्र छन् । अब झापाका स्थानीय सरकारहरुले पनि यी दुई कृतिका सान्दर्भिक अंशहरु पुनः सम्पादन गरेर वा गर्न लगाएर आफ्नो स्थानीय पाठ्यक्रममा समावेश गरिदिएमा स्रष्टाहरुको कर्मले पनि थप सम्मान पाउँथ्यो कि !

(लोकतन्त्र पोष्टको म्यागेजिन संस्करण अंक ९ मा प्रकाशित समीक्षात्मक लेखको विस्तारित अंश ।)

सम्बन्धित खबर