२०८२ माघ १४ बुधवार , ११:५७:३१ बजे

Sajhamanch
'

सर्लाहीमा दादुरा सङ्क्रमण देखिएपछि खोप अभियान तीब्र

बुधवार, माघ १४, २०८२

काठमाडौं । सर्लाहीको मलङ्वामा २३ जना बालबालिकामा दादुरा सङ्क्रमणपछि खोप अभियान तीब्र पारिएको छ ।

दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३, र त्यससँग जोडिएको वडा नं. २, ४, ८, ९ र १० मा ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अस्ति सोमवारदेखि दादुरा रुबेलाको खोप दिन थालिएको हो ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाका अनुसार दादुरा प्रभावित मलङ्वा नगरपालिका–३ सहित सिमाना जोडिएका अन्य पाँचवटा गरी ६ वटा वडाका आठ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

गएको पुस २४ गते मलङ्वा नगरपालिका–३, मा रहेको मुस्लिम टोलका एक पाँच वर्षका बालकमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ल्याब परीक्षणको लागि टेकु काठमाडौं पठाइएको थियो । ल्याब परीक्षणबाट उनमा दादुरा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस लगत्तै सङ्क्रमित बालकको सम्पर्कमा रहेका अन्य बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २३ जनामा सङ्क्रमण फेला परेको डा. झाले बताउनुभयो । दादुरा सङ्क्रमण पुष्टि भएका २३ जना बालबालिका ६ महिनादेखि ११ वर्ष उमेर समूहका रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

परिवार कल्याण महाशाखा टेकुको निर्देशनमा, राष्ट्रिय खोप समन्वय समितिको निर्णय अनुसार प्रभावित क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिएको हो । दादुरा सङ्क्रमण फेला परेका क्षेत्रमा खोपसँगै खोजी अभियान पनि चलिरहेको छ । दादुरासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न घरदैलोमार्फत जानकारी गराइएको छ ।

स्वास्थ्यकर्मीको टोलीले विद्यालय र मदरसामा पुगेर खोप लगाउन शुरु गरेका र हिजोसम्म ३ हजार ५४५ जना बालबालिकालाई खोप लगाइसकेको नगर स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनुभयो । निकै सङ्क्रामक मानिने दादुरा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने गर्छ ।

एकजना दादुरा सङ्क्रमितले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाच्छ्युँ गर्दा, खोक्दा, सङ्क्रमित व्यक्तिले नाकमुख छोपेर हात नधुँदा सजिलै सर्न सक्छ ।

बालबालिकामा धेरै देखिने दादुरा सङ्क्रमण जुनसुकै उमेरका व्यक्तिलाई पनि सर्न सक्ने जोखिम हुन्छ । दादुराबाट बच्न बालबालिकालाई नौ महिना र १५ महिनामा दुई पटक खोप लगाउने गरिन्छ । खोप लगाउन छुटेका बालबालिकालाई यो रोग लाग्ने जोखिम उच्च हुने डा. झाले बताउनुभयो ।