२०८२ माघ १३ मङ्गलवार , १२:२७:११ बजे

Sajhamanch
'

दमकमा सुनका गरगहना चोर्ने चारजना पक्राउ

मङ्गलवार, माघ १३, २०८२

झापा । दमकमा चोरीका सामान र लागूऔषधसहित चारजना पक्राउ परेका छन् । गत माघ ७ गते अन्दाजी दिउँसो ३ः४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरूले १ तोलाको सुनको चुरा, ६ आनाको सुनको नौगेडी, ६ आनाको तिलहरी, ५ आनाको सुनको औँठी र आधा तोलाको सुनको औँठी, १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।

घटनाको अनुसन्धान गरी पाउँ भनी कमला चम्लागाईले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा सीसीटीभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा शिवसताक्षी २ घर भई हाल दमक ८ बस्ने प्रकाश घतानी र दमक ७ बस्ने कमलबहादुर रन्जितकारले चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

घतानी र रन्जितकारलाई खोजतलास गर्ने क्रममा माघ १० गते दिउँसो ४ बजे दमक ८ बाट फेला पारी पक्राउ गरिएको थियो । उनीहरूलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त चोरीका केही सुनका गरगहनाहरूमध्ये १ जोर कानमा लगाउने सुनको झुम्का, १ थान सुनको चुरा, १ थान औँठी र १ थान नौगडीको दाना र सानो टुक्रा १ थान प्रकाश घतानीले दमक वडा नं. ८ स्थित आफू बस्ने कोठामा लुकाई छिपाई राखेको बताएका थिए ।

त्यसपछि उक्त घर कोठा खानतलासी गरिएको थियो । त्यसक्रममा सुनका केही गरगहनाहरू बरामद गरी नौ गेडीको २ वटा दाना कमलबहादुर रन्जितकारले लगी आफ्नै बुबा वर्ष ५५ का नरबहादुर रन्जितकारलाई राख्न दिएको समेत बताएका थिए ।

नरबहादुर रन्जितकारलाई माघ १० गते राति ८ बजे दमक १ बाट पक्राउ गरी उनको शरीर तथा घर कोठा खानतलासी गर्दा उनले लगाएको जिन्स पाइन्टको दायाँ गोजीबाट सुनको नौगेडीको २ वटा दानाहरू फेला परेको थियो ।

त्यसपछि कमलबहादुर रन्जितकारको घर कोठा खानतलासी गर्ने क्रममा कमलबहादुर रन्जितकारकी श्रीमती सन्ध्या हिङमाङले उनीहरू बस्ने घरको झ्यालबाट केही शङ्कास्पद वस्तु झ्यालबाट फालेकी थिइन् । शंका लागेर उक्त वस्तु फालेको स्थानमा हेर्दा सेतो बट्टाभित्र प्लास्टिकबाहेक १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

कमलबहादुर रन्जितकार, नरबहादुर रन्जितकार र सन्ध्या हिङमाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर