
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप–२०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमवारसम्ममा गर्ने भएको छ । पीसीबी अध्यक्ष मोहसिन नक्वीले सोमवार प्रधानमन्त्री शहबाज शरीफसँग भेट गरी विषयमा छलफल गर्नुभएको थियो ।
छलफलपछि सरकारकै निर्देशनअनुसार अन्तिम निर्णय लिने सहमति भएको उहाँले बताउनुभएको छ । अहिले पीसीबीले पूर्ण बहिष्कार मात्र नभएर भारतविरुद्धको खेल मात्र नखेल्ने विकल्पमा पनि विचार गरिरहेको बुझिएको छ । तर यसबारे आधिकारिक रूपमा पीसीबीले केही बोलेको छैन ।
पाकिस्तानको पहिलो खेल फेब्रुअरी ७ तारिखमा नेदरल्यान्ड्ससँग हुने भएकाले निर्णय ढिलो गरेको अवस्थामा तालिका व्यवस्थापनमा समस्या हुन सक्ने देखिन्छ । आईसीसीले बङ्गलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्यान्डलाई सहभागी गराएपछि पाकिस्तानले यो बङ्गलादेशमाथि अन्याय भएको टिप्पणी गरेको थियो ।
भारत जान अस्वीकार गरेकै कारण बङ्गलादेशलाई हटाइएकोमा नक्वीले आईसीसीमाथि ‘डबल स्ट्यान्डर्ड’ अपनाएको आरोप लगाउँदै असन्तुष्टि जनाउनुभएको थियो ।


