२०८२ माघ १२ सोमवार , ०९:४५:४३ बजे

Sajhamanch
'

झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता : कनकाई र गौरीगञ्ज सेमीफाइनलमा प्रवेश

सोमवार, माघ १२, २०८२

शिवसताक्षी । शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । उक्त खेलमा विजयी भई कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्।

पहिलो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकाले कचनकवल गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

कनकाईका लागि जर्सी नम्बर ३ का मनिष भट्टराईले खेलको २६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने जर्सी नम्बर ७ का रुचन लिम्बुले ५६औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका कनकाईका विशाल थेवे ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिकाले मेचीनगर नगरपालिकालाई ३–१ गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाएको छ।

गौरीगञ्जका जर्सी नम्बर ७ का रविन्द्र राईले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले खेलको ३०औँ, ४२औँ र ४५औँ मिनेटमा लगातार गोल गर्दै मेचीनगरलाई दबाबमा राखेका थिए।

मेचीनगरका तर्फबाट भने जर्सी नम्बर ७ का धिराज राजवंशीले खेलको २६औँ मिनेटमा एक गोल फर्काएका थिए। उत्कृष्ट प्रदर्शनकै आधारमा गौरीगञ्जका रविन्द्र राई ‘म्यान अफ द म्याच’ घोषित भए।

आयोजक शिवसताक्षी नगरपालिकाका अनुसार भोलि मंगलबार पहिलो सेमीफाइनल खेल दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबीच हुने छ।

प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

सम्बन्धित खबर