
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब विजयी भएका छन् । हिजो बेलुका दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चित्लाङ फुटबल क्लबलाई ५–१ गोलले हरायो ।
आर्मीका दिनेश हेन्जनले २, नवयुग श्रेष्ठ, नवीन लामा र नरेन्द्र चौधरीले समान १ गोल गरे । चित्लाङका माथेव बाबाटुन्डे ओलानरेवाजुले १ गोल गरे ।
यस्तै हिजै दशरथ रङ्गशालामा भएको अर्को खेलमा मच्छिन्द्रले प्लानिङ बोईज युनाइटेडलाई २–० गोलले हरायो । मच्छिन्द्रका सौरभ सुब्बा र जोनाथनले समान १ गोल गरे ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।


