२०८२ माघ ९ शुक्रवार , ०३:१९:५० बजे

Sajhamanch
'

भारतमा टी–२० विश्वकप नखेल्ने बङ्गलादेशको अडान कायमै

शुक्रवार, माघ ९, २०८२

झापा । आउँदो फेब्रुअरी ७ गतेदेखि भारतमा हुने टी–२० विश्वकपमा बङ्गलादेशले आफ्ना खेलहरू श्रीलङ्कामा सार्न अडान लिएको छ । खेल्न अस्वीकार गरेमा आउँदो टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गरिने आईसीसीले बताएको छ ।

सुरक्षा चिन्ताका कारण भारतमा नखेल्ने निर्णय सरकारको भएको बङ्गलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले भनेका छन् । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यस विषयमा आईसीसीसँग निरन्तर सम्पर्क गर्ने बताएको छ । ढाकामा नजरुल, बीसीबीका अध्यक्ष अमिनुल इस्लाम र सीईओ निजामुद्दीन र धेरै राष्ट्रिय टोलीका खेलाडीहरू बीचको बैठकपछि घोषणा गरिएको यो निर्णयअनुसार बङ्गलादेश विश्वकपमा सहभागी नहुन सक्छ ।

बङ्गलादेशको अडानलाई समर्थन गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पनि आईसीसीलाई पत्र लेखेको छ । बङ्गलादेश रहेको समूह ‘सी’मा नेपालसहित इङ्ल्याण्ड, इटाली र वेस्ट इन्डिज छन् । बङ्गलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा राखिएको छ । बङ्गलादेशले प्रतियोगिताको उद्घाटकाे खेल वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।

बुधवार बसेको आईसीसी बोर्ड बैठकले आईसीसीले सुरक्षाको कारणले गर्दा भारतको सट्टा श्रीलङ्कामा खेल खेल्ने बङ्गलादेशको अनुरोधलाई औपचारिक रूपमा अस्वीकार गरेको थियो भने बीसीबीलाई आफ्नो सरकारसँग कुरा गर्न र फर्कन २४ घण्टाको समय दिएको थियो । अन्यथा अर्को टोलीलाई बङ्गलादेशको स्थानमा खेलाउने जानकारी गराएको थियो । उच्च वरीयताका आधारमा विश्वकपमा छनोट हुन नसकेको स्कटल्यान्डले बङ्गलादेशको स्थान लिने सम्भावना छ ।

गएको जनवरी ३ मा बीसीसीआईले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुरलाई आफ्नो आईपीएल २०२६ टोलीबाट रिहा गर्न निर्देशन दिएपछि सुरक्षाको मुद्दा उडाएको थियो । यद्यपि त्यो निर्देशनको कुनै कारण बताइएको थिएन, तर यो भारत र बङ्गलादेश बीचको बिग्रँदै गएको सम्बन्धको बीचमा आएको थियो ।