
काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागको मौसम बदली भएको छ । दिउँसोपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
महाशाखाका अनुसार आज रातिदेखि गण्डकी प्रदेशदेखि पश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन चट्याङसहित असिनाको समेत सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज रातिदेखि भोलि बेलुकासम्म विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले देशका अरू भू–भागको मौसम भने सामान्यतया सफा नै रहेको छ । काठमाण्डौ उपत्यकामा अहिले हल्का तुवाँलो र पातलो बादल देखिए पनि दिउँसोपछि क्रमशः आकाश खुल्दै जाने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना त्यति छैन । काठमाडौंमा बिहानको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
मौसमविद्हरूका अनुसार आजदेखि सक्रिय हुने नयाँ प्रणालीका कारण तराई क्षेत्रमा लागेको हुस्सु हट्नुका साथै वायु प्रदूषण पनि केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । यस वर्षको हिउँदमा वर्षा र हिमपात न्यून मात्रामा हुनुका साथै तापक्रम औसतभन्दा माथि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


