२०८२ माघ ८ बिहिवार , ०९:२४:०७ बजे

Sajhamanch
'

एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी : उपमहासचिव भट्टराई

बिहिवार, माघ ८, २०८२

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन नहुने भन्ने शंका गर्ने कुनै ठाउँ नरहेको बताउनु भएको छ ।

नेकपा एमाले विराटनगर महानगर कमिटीको विस्तारित बैठकलाई आज सम्बोधन गर्नु हुँदै उपमहासचिव भट्टराईले एमाले पनि पूर्ण तयारीका साथ चुनावमा होमिइसकेकोले बाँकी दिनहरूमा तीव्र रफ्तारमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

‘यो निर्वाचन समयअनुसार हुनुपर्ने निर्वाचन भने होइन, संविधानअनुसार २०८४ मंसिरमा हुनुपर्ने चुनाव प्रतिकूल राजनीतिक परिस्थितिका कारण अहिले हुन लागेको उहाँको भनाई छ ।

“यो निर्वाचन कुनै राजनीतिक दल, देश वा संविधानले चाहेको अवस्था होइन” उहाँले भन्नुभयो, “कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको पनि होइन । विशिष्ट राजनीतिक घटनाक्रम पछि देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन यो निर्वाचन अपरिहार्य बनेको हो ।”

भट्टराईले यस निर्वाचनको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको पनि बताउनु भयो । २०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको स्मरण गराउँदै उहाँले २०७४ र २०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको स्मरण गराउनु भयो ।

उनले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको बताए ।

“अहिले फेरि हाम्रो क्रान्ति माथि, संविधान माथि र प्राप्त उपलब्धि माथि आक्रमण भएको छ” एमाले उपमहासचिव भट्टराईले थप्नु भयो, “किस्ता–किस्तामा राजनीतिक क्रान्ति माथि धावा बोल्ने शक्तिहरूलाई समाप्त गर्दै एकमुष्ट रूपमा क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।”

चुनौतीका घडीमा सधैं एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गर्दै उहाँले भन्नुभयो, “नेकपा एमाले नेपाली माटोमा उम्रिएको पार्टी हो । यसको बिउ, मल र संस्कृति सबै नेपाली हुन्, अहिले च्याउसरी उम्रिएका केही पार्टीहरूको बिउ र मल कहाँको हो भन्ने शंका छ ।”

भट्टराईले एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी भएको स्पष्ट पार्दै “बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ र त्यो एकता एमालेमा छ र हुनुपर्छ ।”

सम्बन्धित खबर