२०८२ माघ ८ बिहिवार , १२:३२:०८ बजे

Sajhamanch
'

अघिल्लो चुनाव भन्दा यसपटक १ हजार ७५ जना उम्मेदवार धेरै

बिहिवार, माघ ८, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक देखिएको निर्वाचन आयोगले जनाएको छ ।

अस्ति मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा ३ हजार ४८७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । २०७९ सालमा २ हजार ४१२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए । यस वर्ष ६८ राजनीतिक दलबाट २ हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् ।

स्वतन्त्र उम्मेदवारी दिने १ हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो । उम्मेदवारी दर्ता गराउनेमा २५ देखि ३५ वर्ष उमेर समूहका ५८३, ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१०, ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षभन्दा माथिका २०१ जना छन् ।

सुशासनको मुख्य नारा लिएर भएको नवयुवा आन्दोलनपछि उम्मेदवारी दर्ता गराउने युवाको सङ्ख्या बढेको अनुमान गरिएको छ ।