
काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा भारतले जितेको छ । हिजो बेलुकी भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४८ रनले हरायो । घरेलु टोलीले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेट गुमाएर १९० रन मात्रै बनाउन सक्यो ।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा धेरै ७८ रन बनाए । भारतका वरुण चक्रवर्ती र शिवम दुबेले समान २ विकेट लिए ।
त्यसअघि नागपुरमा टस हारेर ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २३८ रन बनायो । भारतका अभिषेक शर्माले सबैभन्दा धेरै ८४ रन बनाए ।
न्युजिल्यान्डका ज्याकब डफी र काइल जेमिसनले समान २ विकेट लिए । यो जीतसँगै भारतले ५ खेलको शृङ्खला १–० ले अग्रता लिएको छ ।
अब यी दुई टोलीबीच दोश्रो खेल भोलि रायपुरमा हुनेछ । यसअघि भारतसँग भएको एकदिवसीय शृङ्खला ज्युजिल्यान्डले जितेको थियो ।


