
काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ आएको छ । यो साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेको हो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हुने पक्कापक्की भएपछि सेयर बजारमा निरन्तर सुधार आएको छ । आगामी निर्वाचनका लागि मंगलबार देशैभरि उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् । देश नै निर्वाचनमय भए पनि सेयर बजार पनि सकारात्मक हुँदै आएको हो ।
निर्वाचनपछि राजनीतिक स्थिरता हुने, सेयर बजारमैत्री सरकार बन्ने तथा समग्र सेयर बजार समेत विकास हुने अपेक्षा लगानीकर्ताको छ । सोही अनुसार लगानीकर्ता बजारमा लगानी पनि बढाउने योजना बनाएका छन् ।
निर्वाचन हुने पक्कापक्की भए पनि सेयर बजारमा लगानी बढाउन सुरु गरेको सेयर लगानीकर्ता ओमप्रकाश शर्माले बताए ।
‘निर्वाचन हुने भए पनि सेयर बजारमा सुधार पक्का छ, बुधबार नेप्सेमा आएको करेक्सनले झनै पक्का गरेको छ,’ शर्माले भने, ‘बजार सूचक नेप्से चुनावको बहानामा एकोहोरो बढेको भए जोखिम हुन्थ्यो, करेक्सन हुँदै बढ्दै गर्दा दिगो वृद्धिको संकेत देखिन्छ ।’
बुधबार नेप्से सूचक एकोहोरो बढ्नेभन्दा पनि घट्ने बढ्ने गरेको छ । कारोबार सुरु हुँदा दोहोरो अंकसम्मले बढेको नेप्से बन्द हुँदा ९.४३ अंकले घटेर २७०५.३८ अंकमा झरेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका १ सय ७४ कम्पनीको सेयर मूल्य घटेपछि बजार सूचक नकारात्मक भएको हो । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.३५ अंकले घटेको छ ।
बुधबार नेप्सेमा ८२ कम्पनीको सेयर भने बढेको छ । त्यसैगरी २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । नेप्सेमा कारोबार भएका सेयरमध्ये कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतसम्म बढेको नेप्सेले जनाएको छ ।
बुधबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ समूह २.२५, विकास बैंक ३४.६२, वित्त ४३.२८, होटल १४०.३३, जलविद्युत् १.१५, लगानी ०.६८, जीवन बीमा ४७.८८, उत्पादनमूलक ४२.९७, लघुवित्त १२.७७, सामूहिक लगानी कोष ०.१३, निर्जीवन बीमा ३३.६८ र व्यापार ५२.४० अंकले घटेका छन् । तर, बुधबार अन्य समूह मात्रै ६.३४ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ७ सय ६६ कारोबारबाट ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।
यो कारोबार रकम मंगलबारको तुलनामा थोरै हो । मंगलबार नेप्सेमा पौने १२ अर्ब रुपैयाँ बारबर सेयर किनबेच भएको थियो ।


