
चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।
अघिल्लो वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा चराको सङ्ख्या र प्रजाति बढेको हो । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।
पोहोर ४१ प्रजातिका ९ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो । यस वर्ष थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ । नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो । संयोजक चौधरीका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।


