
- उमानाथ भण्डारी
कमल । निर्माणाधिन एशियन हाइवेको विषयलाई लिएर झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा पूर्वका बासिन्दाले संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका छन् ।
राजमार्ग निर्माणका क्रममा केर्खाबजार पश्चिमतर्फ बस स्टेण्ड, सर्भिसलेन र फुटपाथ राखिएको तर बजार पूर्वतर्फ ती कुनै पनि व्यवस्था नगरिएकोले सर्भिसलेन र फुटपाथ राखिनु पर्ने स्थानीयको माग छ ।
राजमार्ग निर्माणका क्रममा केर्खाबजारदेखि ५०० मिटर पूर्वतर्फ बजार विस्तारको क्रममा रहेको र सो ठाउँमा बस स्टेण्ड, सर्भिसलेन र फुटपाथका लागि पटक पटक सडक डिभिजन कार्यलायमा आग्रह गर्दा कुनै सुनवाई नभएकोले संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेको समितिका संयोजक धनराज गिरीले बताएका छन् ।
केर्खा बजार पूर्व बजार विस्तारको क्रममा छ । सो क्षेत्रमा सामुदायिक तथा संस्थागत विद्यालयहरु समेत रहेकोले विद्यार्थी र सर्वसाधारणलाई आवत जावतका लागि समेत सर्भिसलेन र फुटपाथ निर्माण गर्नुपर्ने स्थानीय राम बुढाथोकीको भनाई छ ।
कमल गाउँपालिकाले केर्खा खोलासम्मको क्षेत्रलाई बजारक्षेत्र घोषणा गरेपनि पछिल्लो समय स्मल टोल क्षेत्रलाई बेवास्ता गर्दै कुनै पनि कार्यक्रम नदिइएकोमा पछिल्लो पटक राजमार्ग निर्माणका क्रममा समेत आफूहरु मर्कामा परेको अर्का स्थानीय कमल सिवाकोटीको गुनासो छ ।


