
चितवन । मलको जथाभावी प्रयोगका कारण माटोको उत्पादन क्षमता खस्कदै गएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा रहेको चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले यस्तो बताएका हुन् ।
विज्ञका अनुसार मलको मात्रा बारेमा किसानलाई जानकारी नहुनु मुख्य समस्या बनेको छ । उनीहरुले किसानलाई रासायनिक मलको समुचित प्रयोगका लागि सचेतना तथा तालिम आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै कालिका नगरपालिका महिला साना किसान कृषि सहकारीमा आबद्ध खड्काकुमारी खत्रीले धेरै उत्पादन हुने आशामा किसानले बढी मात्रामा मल प्रयोग गर्ने गरेको बताउनुभयो । यस्तै रासायनिक मल विक्रेता रामचन्द्र रिजालले मल बिक्री गर्दा किसानमात्र होइन, मल विक्रेता पनि सजग हुनुपर्ने बताउनुभयो ।
कृषि मन्त्रालयका पूर्वउपसचिव तथा मलविज्ञ भगवान खतिवडाले नेपालमा धेरैजसो किसानले रासायनिक मलको समुचित प्रयोग नगर्ने गरेको बताउनुभयो । कुन मलले कति दिनमा काम गर्छ भन्नेबारे किसानलाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ । किसानले माटो परीक्षण गराई नतिजाका आधारमा बालीअनुसार मल प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


