२०८२ माघ ३ शनिवार , ०३:२७:१९ बजे

Sajhamanch
'

झापा गोल्डकप : नयाँ सदस्यता १०० नाघ्यो, गगन थापालाई भेटियो

शनिवार, माघ ३, २०८२

बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तीब्र तयारीका बीच नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ ।

निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिएका हुन् ।

यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए ।

गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या १०० नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा देखाएका छन् ।

दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन नयाँ सदस्यता थप गरिएको हो । सदस्यलाई प्रतियोगितामा विशेष सुविधा दिने तयारी गरिएको गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए ।

१५ लाख रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । उपविजेताले नगद आठ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय, झापा ११, भारत, भुटान र मलेसियाका एकएक टिम र तीनवटा नेपाल ए डिभिजन क्लबको सहभागिता रहने अध्यक्ष गिरीले बताएका छन् ।

यसैबीच नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र झापा गोल्डकपको टोलीबीच आज भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो ।

गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए ।

प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।

झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे, सञ्जीव घिमिरे लगायतको टोलीले थापासँग काठमाडौँमा भेटघाट गरेको हो ।

सम्बन्धित खबर