२०८२ पौष ३० बुधवार , ०४:५५:०७ बजे

Sajhamanch
'

वार्मअप खेलमा नेपाली महिला टोली आयरल्यान्डसँग ९९ रनले पराजित

बुधवार, पौष ३०, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको वार्मअप खेलमा नेपाल आयरल्यान्डसँग भएको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा १०१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालकी कविता जोशीले सबैभन्दा धेरै २८ रन बनाइन् । आयरल्यान्डका लारा म्याकब्राइड, अर्लेन केली, ओर्ला प्रेन्डरगास्ट र एमी म्यागुइरले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनायो । आयरल्यान्डका कप्तान गेबी लुइसले ७७, ओर्ला प्रेन्डरगास्टले ६२ रन बनाइन् । नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् ।

अब नेपालले पर्सि अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्नेछ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आउँदो माघ ४ गतेदेखि नेपालमा शुरू हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् ।

तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।