२०८२ पौष ३० बुधवार , ०२:५४:४४ बजे

Sajhamanch
'

तोकिएकै मितिमा चुनाव गराउनु सरकारको मुख्य दायित्व : गृहमन्त्री

बुधवार, पौष ३०, २०८२

जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सकारको मुख्य दायित्व रहेको बताउनु भएको छ।

जनकपुरधाममा बुधबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री अर्यालले यो नागरिक सरकार २३ र २४ भदौको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेनजी आदोलनपछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने बताउनु भयो ।

उहाँले प्रदेश प्रहरी समायोजन र संघीय प्रहरी ऐनको आवश्यकता औंल्याउँदै, प्रदेशको प्रहरी भएन भन्ने नकारात्मक भाष्य बन्दै गएको र सङ्घको प्रहरी प्रदेशको अर्थात् (हाम्रो) हुन नसकेको प्रति कटाक्ष गर्नुभयो ।

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेश प्रहरी समायोजनको कार्य अघि बढ्न नसक्दा प्रदेश संरचनामा नदेखिने रूपले सुरक्षा चुनौती थपिँदै गएको बताउनु भयो ।

सम्बन्धित खबर