२०८२ पौष २९ मङ्गलवार , १२:०९:५६ बजे

Sajhamanch
'

शिक्षण पेशासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

मङ्गलवार, पौष २९, २०८२

रुपेन्देही । सर्वेन्द्र यादवले शिक्षण पेशासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ ।

रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ मा रहेको श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बन्नुभएको छ । कार्यालय समयमा विद्यालय पुग्ने, कक्षाकोठामा ज्ञान बाँड्ने र फुर्सदको समय खेतबारीमा बिताउने उहाँको दैनिकीले ‘समय अभाव’ भन्ने बहानालाई पनि चुनौती दिएको छ । सार्वजनिक बिदाका दिन तथा बिहान–साँझ समयको सदुपयोग गर्दै कृषिबाट राम्रो आम्दानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ बोगडी बस्ने यादव युवा उमेरमा नै जिम्मेवार शिक्षक मात्र होइन, नयाँ सोच भएका मिहिनेती किसानका रूपमा समेत चिनिन थाल्नुभएको छ । विद्यालय बाहेकको समयलाई उहाँले उत्पादनशील बनाउँदै आधुनिक र व्यावसायिक ढङ्गबाट कृषि पेसा अघि बढाउनुभएको छ ।

यादवको कृषि यात्राले आज स्वदेशमा सम्भावना छैन भन्दै वैदेशिक रोजगारीमा गएका धेरै युवालाई नयाँ बाटो देखाएको छ । उहाँ भन्नुहुन्छ, ‘विदेश गएर अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै देशकै माटोमा पसिना बगाएर उत्पादनमा लाग्नु नै उपयुक्त लाग्छ । आफ्नै खेतमा फलफूल र तरकारी उत्पादन गरी स्वदेशमै मात्र होइन, विदेशसम्म पठाउन सकिन्छ । लाखौँ रकम खर्चेर विदेशिनुभन्दा त्यो रकम नेपालमै लगानी गरी कृषि पेशामा लागेर आफ्नै परिवारसँगै बस्न पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।’ उहाँले कृषि पेशामा प्रशस्तै सम्भावना रहेको बताउनुभयो । कृषिको आधुनिकरण र व्यावसायिकीकरणमा भने सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कृषि कार्यलाई सहज बनाउन उहाँले प्रयोग गर्नुभएको मिनी (हाते) ट्याक्टर उहाँका लागि प्रविधि र श्रमको मिलन बनेको छ । केराखेती गोडमेल गर्न झन्डै १० हजार रुपैयाँ ज्याला खर्चिनुपर्नेमा मिनी ट्याक्टर प्रयोग गर्दा झन्डै ३०० रुपैयाँ बराबरको इन्धन खर्चमै काम सम्पन्न भएको उहाँ बताउनुहुन्छ । यसले समय र पैसाको दुवै बचत गरिदिएको यादवको भनाइ छ ।

अहिले यादवले झन्डै पाँच कट्ठामा काउली, आठ कट्ठामा टमाटर र झन्डै दुई बिघा क्षेत्रफलमा केराखेती गर्नुभएको छ । धनियाँ, साग, खुर्सानीजस्ता तरकारी पनि नियमित रूपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । कृषिबाट वार्षिक दुई लाख ५० हजार बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सरकारले कृषि क्षेत्रलाई विद्युतीकरण गर्न सके ‘अन्नभण्डार’ का रूपमा चिनिने मर्चवार क्षेत्रमा उत्पादन हुने सागसब्जी नेपालभरि मात्र नभई विदेशसम्म पनि निर्यात गर्न सकिने उहाँको विश्वास छ ।

यद्यपि उहाँको कृषि यात्रामा चुनौती पनि उत्तिकै छन् । जङ्गली जनावरको आक्रमणले किसानहरु मारमा पर्ने गरेको उहाँ बताउनुहुन्छ । यादव भन्नुहुन्छ, ‘समयमै बीउ र मल नपाउने, सिँचाइका लागि विद्युतीय पहुँच नहुनु र सरकारले अपेक्षित सहयोग दिन नसक्नु एउटा पीडा हो । लगाइएको तरकारीलाई नीलगाई, बँदेल, छाडा चौपाया तथा अन्य जङ्गली जनावरबाट जोगाउनु अर्को चुनौती छ ।’

जनावरबाट बाली जोगाउन उहाँले ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग गर्नुभएको छ, जसले केही हदसम्म राहत दिएको उहाँ बताउनुहुन्छ । साथै सामूहिक रूपमा खेतीपाती गर्दै नियमित हेरचाह र निगरानी गर्दा पनि जनावरबाट बाली जोगाउन सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।

कलम र कोदालो दुवै सम्हाल्दै अघि बढिरहनुभएका शिक्षक सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषि कर्मलाई सम्मानजनक र सम्भावनायुक्त पेशाका रूपमा परिभाषित गर्नुभएको छ । उहाँको जीवन यात्रा आजका युवाका लागि स्पष्ट सन्देश हो ‘सम्भावना विदेशमा मात्रै होइन, आफ्नै माटोमा पनि प्रशस्त छ ।’