
काठमाडौं । भारतका विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन् । हिजो भएको न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ९३ रन जोड्दै ३७ वर्षीय कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
यो खेल घरेलु टोली भारतले जितेको थियो । बडोदरामा न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटाएको थियो ।
कोहलीले टेस्ट, एकदिवसीय र टी–२० – तीन वटै फर्म्याटमा गरि २८ हजार ६८ रन जोडेका हुन् । उनले श्रीलङ्काका कुमार सङ्गाकारालाई पछि पारे । सङ्गाकाराले २८ हजार १६ रन बनाएका छन् । यस्तै यो सूचीको पहिलो नम्बरमा रहेका भारतकै सचिन तेन्दुलकरले ३४ हजार ३ सय ५७ रन बनाएका छन् ।
शीर्ष क्रमका ब्याटर विराट कोहलीले सन् २००८ मा श्रीलङ्कासँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका थिए । टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका उनले एकदिवसीय भने खेलिरहेका छन् ।
कोहलीसँगै ३८ वर्षीय रोहित शर्माले पनि टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यास लिएका छन् । दुवै क्रिकेटरको भविष्यको बारेमा व्यापक रूपमा बहस भएको छ, दुवैले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना छ ।


