
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सबै तयारी पूरा गरेको छ ।
उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष विज्ञान तथा प्रविधि विकास यात्रामा एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
नास्टको पहलमा नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा झन्डै दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति तथा वातावरणीय अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ ।
सीमित स्रोत र प्रविधिका बीच विद्यार्थीहरूकै नेतृत्वमा तयार भएको यो उपग्रहले अनुसन्धान, शिक्षण र प्रविधि विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
उपग्रहको सञ्चालन तथा निगरानी ललितपुरको खुमलटारमा रहेको ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा। रविन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान नेपाली समयानुसार १० बजेर ३२ मिनेटमा प्रक्षेपण हुँदैछ । प्रक्षेपण भारतको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।
नास्टका अनुसार ‘मुनाल’ उपग्रहले पृथ्वीको तस्बिर तथा आवश्यक डाटा सङ्कलन गरी नेपालमै प्रशोधन गर्नेछ, जसबाट वनस्पति अवस्थाको अनुगमन, वातावरणीय परिवर्तनको अध्ययन र प्रविधि परीक्षणमा सहयोग पुग्नेछ । यसका साथै, विद्यार्थी तथा युवा वैज्ञानिकलाई अन्तरिक्ष प्रविधिमा प्रत्यक्ष संलग्न गराउँदै दीर्घकालीन रूपमा स्वदेशी जनशक्ति उत्पादनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
विज्ञहरूका अनुसार ‘मुनाल’ उपग्रहको सफल प्रक्षेपण र सञ्चालनले नेपाललाई अन्तरिक्ष प्रविधि प्रयोग गर्ने राष्ट्रहरूको सूचीमा थप मजबुत रूपमा उभ्याउनेछ । यसले भविष्यमा साना उपग्रह विकास, अनुसन्धान सहकार्य र व्यावहारिक उपयोगका नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ ।


