
काठमाडौं । मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल बढ्दैछ । माघेसङ्क्रान्ति पर्वलाई मिथिलावासीले ‘तिलासक्रायत’ भन्ने गरिएको छ ।
दुईतीन दिनदेखि दिउँसोतिर हुस्सु फाटेर केहीबेर घाम देखिन थालेपछि मिथिलावासीहरु साप्ताहिक हटियाका दिन पर्वका सामानको खरिदबिक्रीकोे चहलपहल बढ्दै गएको छ ।
लगातारजस्तै बढेको बाक्लो हुस्सु कुहिरो दुईतीन दिनयता अपराह्नपछि कम हुँदै गएकाले पर्वको तयारीमा लाग्न थोरै राहत मिलेको सर्वसाधारणले बताएका छन् । पर्वविशेषका खाद्यवस्तु सखरखण्ड, तरुल र माटोमुनि फल्ने मधेसको एकप्रकारको फल सुथुनी खन्न, बजार पुर्याएर बेच्न किसानलाई भ्याइनभ्याई छ ।
आउने बिहीवार मनाइँने ‘तिलासक्रायत’ लाई मिथिलावासीले खानेपिउने रमाइलो पर्वका रुपमा मान्छन् । यस पर्वमा तील, चिउरा, भुजा र जुनेलो भुटेर सक्खरको खुँदोमा मिसाई लड्डु बनाएर खाने ख्वाउने चलन छ । त्यसैगरी पर्वका दिन मासको दाल र चामलको खिचडीमा घिउ हालेर खाने मैथिल चलन छ ।
यसैबीच पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका बस्तीमा माघी पर्वको तयारी तीव्र रूपमा भइरहेको छ । थारू समुदायको ठूलो पर्व माघीका लागि पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याइ छ ।
पर्वको तयारीका क्रममा विशेषगरी अनडी धानको चामल, पीठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायतका काम भइरहेको छ ।
माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायत खानाका पकवान खाने चलन रही आएको छ । यस पर्वमा थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यस्तै, माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि भइरहेका छन् ।


