
काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ ।
आज शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताउनु भयो ।
‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ एसएसपी अधिकारीले भन्नुभयो ।
शुक्रबारबाट रक्तदान गरेर सुरु गरिने यो अभियानमा विविध कार्यक्रमहरु समेटिएका छन् । ट्राफिक सम्बन्धी जनचेतना मुलक सन्देश दूरसञ्चार सेवा प्रदायक कम्पनीमार्फत रिङटोनको रुपमा बजाउने, काठमाडौं उपत्यकामा ट्राफिक सम्बन्धी बोर्डहरु राख्ने, दुर्घटना सम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने लगायतका कार्यक्रम गरिने एसपी तथा प्रवक्ता नरेश राज सुवेदीले पत्रकार सम्मलेनमा बताउनु भयो ।
रात्रिकालिन लामो तथा मध्यम दुरीका सवारीहरुमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय समेत गरिने बताइएको छ ।


