२०८२ पौष २६ शनिवार , ०३:५१:३८ बजे

Sajhamanch
'

मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाएको एनआरएनए अमेरिकाको भनाइ

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि औपचारिक वा अनौपचारिक रूपमा निम्तो नदिएको स्पष्ट पारेको छ ।

परिषद्का प्रवक्ता सन्देश उप्रेतीले निकालेको विज्ञप्तिमा संघको आधिकारिक स्वीकृतिबिना भएको कुनै पनि भ्रमण, कार्यक्रम वा फन्डरेजिङ पूर्ण रूपमा अवैध र अमान्य हुने भनिएको छ ।

एनआरएनए एनसीसी यूएसएको नाम र आधिकारिक वेबसाइटको दुरुपयोग गरी अनधिकृत कार्यक्रम संचालन भइरहेको र यससँग मानव तस्करी जस्ता गम्भीर गैरकानुनी गतिविधिसमेत जोडिएको विश्वासयोग्य जानकारी प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ ।

परिषद्ले यस्तो गतिविधिबाट आफ्नो संस्था र सदस्यको प्रतिष्ठा आँच नआओस भन्नका लागि कडाइका साथ कानुनी कारबाही अघि बढाउने र अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालमा रहेको अमेरिकी दूतावासलाई जानकारी गराउने जनाएको छ ।

एनआरएनए एनसीसी यूएसएले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै संस्थासँग कुनै पनि अनधिकृत कार्यक्रम, भ्रमण वा कथित युवा कार्यक्रमसँग कुनै प्रकारको सम्बन्ध, स्वीकृति वा साझेदारी नभएको उल्लेख गरेको छ ।

यसैबीच केही अनलाइन समाचार र सामाजिक सञ्जालमा नक्कली निम्तो वा कार्यक्रमको दाबी सार्वजनिक भए पनि, संघ र सम्बन्धित सरकारी निकायहरूले यसलाई पूर्ण रूपमा खण्डन गरेका छन् ।