
काठमाडौं । नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकमा भएका महत्त्वपूर्ण निर्णयको जानकारी र कार्यान्वयनका लागि निर्देशन जारी गर्नुभएको हो ।
अपानीमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै निर्वाचन केन्द्रित कार्यविभाजन गरिएको छ । निर्देशनमा पार्टीका पदाधिकारी र केन्द्रीय कमिटी सदस्यलाई चुनावको काममा केन्द्रित रहनेगरी परिचालन गर्ने नीतिअनुरुप अस्थायी कार्यविभाजन गरिएको छ ।
पार्टीले सबै केन्द्रीय सदस्यलाई आफ्नो जिल्लामा चुनाव केन्द्रित जिम्मेवारी दिएको छ भने जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई निर्वाचन संयोजक बनाइने र अन्य सदस्यलाई सदस्यको रूपमा राखेर कार्यविभाजन गरिएको छ ।
यसरी एमालेले कूल २७७ केन्द्रीय सदस्यलाई चुनाव केन्द्रित कामको जिम्मेवारी प्रदान गरेको छ । निर्देशनमा केन्द्रीय कमिटी सदस्यमा मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजन प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि गरिने र चुनाव सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने उल्लेख छ ।
साथै, युवा केन्द्रित अभियानका लागि पार्टीले केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी तोकेको छ र युवालाई परिचालन गरी आमयुवालाई पार्टीको अभियानमा जोड्न सातवटै प्रदेशमा युवा संयोजक तोकिएको छ ।
युवा परिचालनका लागि केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजक समिक बडाल रहेका छन् भने कोशी प्रदेशमा मनोज ताम्ली, मधेश प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा कमला बोहरा संयोजक बनाइएको छ । पार्टीले बागमती प्रदेशलाई बागमती र राजधानी प्रदेश गरी दुई भागमा विभाजन गरेको छ ।
बागमती प्रदेश कमिटी र उपत्यका विशेष कमिटीमा रहेका पदाधिकारी तथा सदस्यलाई उनीहरुको भूगोल वा कार्यक्षेत्रअनुसार बागमती र राजधानी प्रदेश कमिटीमा राखेर संगठन कमिटी निर्माण गरिएको छ । राजधानी प्रदेश संगठन कमिटीको अध्यक्षमा नारायण सिलवाल, उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल, उपसचिवमा शशिजङ्ग थापा र बेलिमाया घलेलाई जिम्मेवारी दिइएको छ भने बागमती प्रदेश संगठन कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल, उपाध्यक्षमा दावा तामाङ, सचिवमा बालकृष्ण देउजा, उपसचिवमा भक्तकुमारी लामा र रमेश आचार्य, सम्पर्क विशेष संगठन कमिटीको अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा कपिल ओली, उपसचिवमा प्रेमराज भट्ट र सत्यदेवी खड्का अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।
यसरी एमालेले निर्वाचन केन्द्रित रणनीति अघि सारेको छ र केन्द्रीय सदस्य तथा युवालाई सक्रिय परिचालन गर्दै प्रत्येक जिल्लामा जिम्मेवारी तोकेको छ भने बागमती र राजधानी प्रदेशलाई पृथक संगठन कमिटीमा विभाजन गरी कार्यक्षेत्रअनुसार व्यवस्थापन गरेको छ ।


